राजनीति
क्रान्तिकारीहरु प्रतिक्रान्तिलाई
रोक्न आजैदेखि गम्भीर हुनुपर्दछ
- चूर्णबहादुर सुनार
क्रान्तिलाई सम्पन्न गर्न धेरै भन्दा धेरै क्रान्तिकारीहरुले
रगत बगाउनु परेको इतिहास छ । तर प्रतिक्रान्तिकारीहरुले
प्रतिक्रान्ति गर्दा एक थोपा रगत नबगाई प्रतिक्रान्ति
सम्पन्न गरेको इतिहास ताजै छ । यसै सन्दर्भलाई लिएर मार्क्सले
भन्नुभएको थियो- 'समाजवादी काल भनेको संक्रमण कालिन अवस्था
हो । त्यहाँ समाजवादी धारा र पुँजीवादी धाराबीच तीव्र
द्वन्द्व भैरहेको हुन्छ । त्यस्तो राजनैतिक संक्रमण कालिन
अवस्थामा विजय र पराजयको सुनिश्चित भैसकेको हुँदैन ।' सोभियत
संघ र चीनका घटनाक्रमहरु मार्क्सकै व्याख्याअनुरुप छन् ।
यस दुनियाँका बीर क्रान्तिकारी यौद्धाहरुको बलिदानले इ.सं.
१९औं शदीको अन्त र २०औं शदीको १७औं वर्षदेखि ४९औं वर्षको
समयावधीमा यस पृथ्वीको आधा भू-भागमा सर्वहारा वर्गको समाजवादी
राज्यसत्ता थियो । तर आज यस धर्ती विघटनलाई लिएर आफूलाई
समयसापेक्ष क्रान्तिकारी भन्नेहरुले मार्क्सले प्रतिपादन
गर्नुभएको सर्वहारा वर्गको दर्शनको मूल पक्ष सर्वहारा वर्गको
अधिनायकत्व र वर्ग संघर्षलाई परित्याग गर्दै, वर्गसमन्वयवादी
खु्रश्चेभी लाइन लिएर बुर्जुवाहरुको अगाडि आत्मर्समर्पण गर्न
पुगेका छन् । भने सर्वहारा वर्गप्रति इमानदार क्रान्तिकारीहरु
लाखौं बीर योद्धाहरुको रगतको कदर गर्न, करोडौं श्रमजीवी
सर्वहारा, किसानहरुको मुक्तिको सपनालाई साकार रुप दिन दृढ
संकल्पित छन् ।
२१औं शदीका क्रान्तिकारीहरु क्रान्तिकारी भएर मात्र पुग्ने
छैन । क्रान्तिकारीहरु दूरदर्शी, क्रान्तिप्रति चिन्ता,
पार्टीको नीति निर्णयलाई कार्यान्वयन गर्दा अपनाएको
कार्यशैलीको समीक्षा, वर्तमान समाजको अगाडि अत्यन्त भद्र,
शालिन, सभ्य, बलिदानी भावना, क्रान्तिप्रति चिन्ता, विश्वास,
इमानदार र जनताको नजरमा आँखाको नानी र दुश्मनहरुको अगाडि बम
बन्न आवश्यक छ । हामीलाई यतिले मात्र पुग्ने छैन । र, यस
दुनियाँमा सर्वहारा वर्गको समाजवादी राज्यसत्ता किन धराशाही
हुन पुगे - किन क्रान्तिकारी पार्टीभित्र घुस्न सफल भैरहेका
छन् पुँजीवादका एजेण्टहरु - त्यसलाई रोक्न के विधि अपनाउनु
पर्दछ । प्रतिक्रान्तिकारीहरुको प्रतिक्रान्ति गर्दा किन मौन
र्समर्थन जनाउन पुगे ती वीर क्रान्तिकारीहरुले - ती
क्रान्तिकारीहरुमा कहाँनिर रह्यो कमजोरी - के
क्रान्तिकारीहरुको कर्तव्य क्रान्ति मात्र गर्ने
प्रतिक्रान्तिलाई रोक्ने होइन - भावी दिनहरुमा सर्वहारा
वर्गले प्राप्त गर्ने राज्यसत्तालाई दीर्घजीवी बनाउन रुसदेखि
चीनसम्मको घटनाक्रमलाई गहिरो अध्ययन गर्न जरुरी देखिन्छ ?
क्रान्ति सम्पन्न गर्न, राज्यसत्तँ प्राप्त गर्न र प्राप्त
गरेको राज्यसत्तँलाई दीर्घजीवी बनाउन र समाजवाद, साम्यवादी
समाजसम्म पुर्याई अशान्तिपूर्ण पृथ्वीलाई शान्तिमा परिणत
गर्न २१औं शदीका क्रान्तिकारीहरु पनि चिन्तिन हुन आवश्यक छ ।
रुस, चीनका घटनाक्रमहरुलाई गम्भीर अध्ययन र विश्लेषण गर्दा
के निश्कर्ष निस्कन्छ भने, क्रान्ति सम्पन्न गर्ने,
राज्यसत्ता प्राप्त गर्ने र प्राप्त राज्यसत्तँलाई कसरी
टिकाउने भन्ने विषयमा लेनिन स्टालिन र माओले मात्र चिन्ता
गरेको देखिन्छ । माओ, लेनिन र स्टालिनको निधनपश्चात्
प्रतिक्रान्ति हुनु र उक्त प्रतिक्रान्तिको विरुद्धमा
क्रान्तिकारीहरुले विद्रोहको झण्डा नउठाउनुले यही प्रमाणित
गर्दछ कि क्रान्ति, राज्यसत्ताको चिन्ता नेतृत्वलाई मात्र
रहेछ ।
हामी २१औं शदीका मार्क्सवादी लेनिनवादी र माओवादी हौं ।
हामीले इतिहासमा घटेका घटनाक्रमहरुबाट पाठ सिक्दै हामीले
भविश्यमा प्राप्त गर्ने राज्यसत्तँलाई दीर्घजीवी बनाउन र
प्रतिक्रान्तिकारीहरुको सुनियोजित षड्यन्त्रलाई गहिरो अध्ययन
गर्न, पार्टी संगठनभित्र घुस्न सफल प्रतिक्रान्तिकारीहरुको
चलखेलको पनि गम्भीर अध्ययन गर्न चनाखो हुनै पर्छ ।
प्रतिक्रान्तिकारीहरु आफ्नो नाता लाग्ने व्यक्ति पनि हुन
सक्छ । व्यक्तिको मोहमा हामी क्रान्तिकारी फस्यौं भने
प्रतिक्रान्तिकारीहरुले व्यक्ति मोहलाई आधार बनाएर पार्टी
संगठनलाई ध्वस्त बनाइदिन सक्छ । जनताको नजरमा पार्टी
संगठनलाई जनताको आँखाको कसिंगर बनाइदिन सक्छ । हामी यसप्रति
पनि अत्यन्त चनाखो बन्नु पर्दछ । प्रतिक्रान्तिकारी चिन्तन
हामीसंग पनि रहेको हुन सक्छ, त्यसलाई आलोचनाको पद्दतीमार्फत्
अत्यन्त मैत्रीपूर्ण ढंगबाट बाहिर उजागर गर्न साथीले पिर
मान्ला भन्नु हुँदैन । हामीलाई मार्क्सवादले के सिकाएको छ भने
व्यक्तिलाई विश्वास पनि गर शंका पनि गर । हो
प्रतिक्रान्तिकारी नेता खुश्चेवलाई रुसी क्रान्तिकारीहरुले
लेनिन स्टालिनकै समक्षमा राखी विश्वास गरे । परिणाम स्वरुप
खु्रश्चेभले क्रान्तिकारीहरुको प्रतिरोध खेप्न परेन र ऊ सफल
भयो ।
हामी २१औं शदीको मार्क्सवादी-लेनिनवादी र माओवादी चेतनामा
आधारित क्रान्तिकारीहरु हौं । हामीसंग २१औं शदीकै चेतको
विकास गर्न आवश्यक छ । हामी पुँजीवाद, सामन्तवाद र
आध्यात्मवादका विरोधी हौं । भावी दिनहरुमा प्रतिक्रान्तिलाई
रोक्न, क्रान्तिको प्रारम्भिक विन्दुदेखि सर्वहारा
सांस्कृतिक क्रान्तिलाई दह्रोसंग पकडेर अगाडि जान सकेमा र
प्रतिक्रान्तिकारीहरुको छद्मभेषी क्रान्तिकारितालाई सुक्ष्म
ढंगबाट अध्ययन गर्न सके मात्र प्रतिक्रान्तिकारीहरुले गर्ने
प्रतिक्रान्तिलाई रोक्न सकिने छ ।