कविता
अर्को नयाँ विद्रोह गरौं
- तारानाथ शर्मा
करोडौं जनताको खुनपसिना चुसेर
अघाएका गिद्धहरु जस्तै
राष्ट्रको सम्पत्तिमा भ्रष्टाचार गरी
शहरमा महल ठड्याकाहरु
दामको भेटी चढाएर
बादशाहको पाठ घोग्नेहरु
सिंगो लाउडा निलेर
गोलमोलझैं मोटाएकाहरु
इतिहासमा धेरै पटक
जनतालाई ध्वका दिनेहरु
सधैभरि विदेशीको चाकडीमा
आफ्नो अस्तित्व धान्नेहरु
जनशक्ति भन्दा राजशक्तिलाई नै
बलियो ठान्नेहरु
देशका नदिनालाहरु
विदेशीलाई सुम्पनेहरु
षड्यन्त्रको अँधेरो कुनामा
राजतन्त्रलाई साक्षी राखी
गणतन्त्रका चिल्ला कुरा गर्दैछन् ।
अरुलाई वैधताको पाठ पढाउनेहरु
आफै अवैधताको ओरालातिर
हामफाल्दैछन् ।
सिंगो देशले गणतन्त्र खोजेको बेला
फेरि पनि राजतन्त्रलाई
काँधमा बोकेर हिँडिरहेछन्
ए ! क्रान्तिकारीहरु सावधान
सचेत हुनैपर्छ
राष्ट्रियताको रक्षा गर्न
दुष्टहरुको षड्यन्त्रलाई चिर्दै
देशमा चाँडो भन्दा चाँडो
संघीय गणतन्त्र स्थापना गर्न
शान्त र सम्वृद्ध नेपालको निर्माण गर्न ।
देशैंभरि शान्तिका परेवा उडाउँदै
अशान्तिको धुन बजाउनेलाई
धर्तीको माटोमा मिलाई दिन
उठौं सारा वामपन्थीहरु
जुटौं सबै पत्रकार बुद्धिजीवीहरु
आफ्ना निजी स्वार्थ बिर्सर्ेेसबैले एकपटक देशको लागि सोचौं
आऊ सारा नेपालीहरु
अर्को नयाँ विद्रोह गरौं ।