यसपटक
शहर होस् त तम्घास जस्तो
- हिरामणि दुःखी
यसपटक पाँच दिनसम्म तम्घास बस्ने अवसर मिल्यो । अखिल नेपाल
लेखक संघ र अखिल नेपाल जनकलाकार संघको मगराँत राज्यको प्रथम
सम्मेलनको कार्यक्रम थियो । यी दुइ संगठन अखिल नेपाल
जनसांस्कृतिक महासंघका आंगिक संगठनहरु हुन् । कार्तिक ७ र ८
गते बसेको महासंघ राज्यसमितिको बैठकले दुबै संगठनको संयुक्त
सम्मेलन गर्ने भनेर निर्णय गरेको थियो । सम्मेलन गूल्मी
जिल्लाको तम्घासमा गर्ने निधो भएको थियो । गुल्मीको महासंघ र
जिल्ला पार्टीको व्यवस्थित पहल र तयारी भइरहेको थियो ।
जनउभारको वारि्षक समीक्षा सकेर ६ गते बेलुका मात्र म तम्घास
पुगें । यो मेरो दोस्रो यात्रा थियो । पहिलो पटक २०५७ को
असारमा गुल्मी जिल्ला प्रवेश गर्ने अवसर मिलेको थियो । त्यो
यात्रा मेरो नितान्त निजी थियो । आपना बाबु बाजेको जन्मथलो
जिल्ला भएको र केही आफन्त त्यही भएकाले पार्टी कामको समयमा
२/३ दिन फुर्सद निकालेर भेटघाटमा गएको थिएँ । अत्यन्त छोटो
समय र वषर्ायाम भएकाले पनि त्यतिखेर तम्घास बजारको पुरै
अवलोकन गर्न भ्याएको थिएन । साथै त्यस समयमा शहरभित्र
कालोपत्रे पनि भएको थिएन । पाल्पाबाट तम्घास पुग्ने बाटो पूरै
कच्ची र जोखिमपूर्ण थियो । यतिखेर भने बाटो त पिच भएको रहेछ
तर रिडिदेखि तम्घास पुग्दा बीचबीचमा कालोपत्रेको छाला
उप्किएर हो वा पिच नै नगरिएको हो कच्ची सडक नै थियो । सायद
पुरानो बाटोको झल्को दिनलाई कच्ची नै छोडिएको पो हो कि -
वरिपरि डाँडाले घेरिएको र बीचमा अञ्जुली आकारमा कचौरा जस्तो
भूगोलमा तम्घास बजार रहेछ । उपल्लो तम्घास र तल्लो तम्घास गरी
दुइ भागमा बाँडिएको उक्त सदरमुकाम प्राकृतिक रुपले अत्यन्तै
सुन्दर छ । पहाडको खोँच भएर पनि शहरको व्यवस्थापन साहै्र
राम्रो लाग्यो । वरिपरि रिङ्रोडको रुपमा विकास हुँदै गरेको,
त्यसभित्र शहर बजारका निम्ति अत्याधुनिक घर निर्माण भएका र
कतिपय निर्माणको क्रममा छन् । शहर प्राकृतिक रुपले नै
हरियालीपूर्ण छ । बाहिरबाट हेर्दा भवाट शहरको अनुभूति नहुने
तर भित्र पसेपछि खँदिलो रुपमा बजार रहेको छ । बजारको
सुन्दरतामा प्रकृतिले जसरी साथ दिएको छ त्यसलाई संरक्षण र
व्यवस्थित गर्न शहरवासी जनताले पनि त्यत्तिकै ध्यान दिएका छन्
। सफा बाटो, बीचबीचमा पार्क स्टाइलका चौकहरु, सरकारी भवन,
प्राङ्गणहरुको सरसफाई, घरभित्रको फोहर मैला घरधनी आफैले फोहर
पयाँक्ने स्थानमा फाल्ने प्रचलन अत्यन्तै प्रशंसनीय छन् ।
शहरभित्रको बाटो पनि नाला छेउसम्म कालोपत्रे गरिएको छ । घर
निर्माणकर्ताहरुले ढुंगा, बालुवा, इंटा, जथाभावी सडकमा
थुपार्ने चलन पनि त्यहाँ देखिएन । हरेक बिहानमा आपनो घर र
पसल अगाडिको सडक आफैले झाडु लगाएर सफा गर्ने प्रचलन पनि
प्रशंसनीय कार्य हो । यी त शहरवासी जनताले गर्ने कार्यहरु भए
। जनजातिको वाहुल्य भएको जिल्ला भएता पनि दिनदाहाडै रक्सी
पिएर होहल्ला गरेको कतै पनि देखिएन । अझ रोचक कुरा त के छ भने
आजभोलि सुन्तलाको सिजन छ, बजारमा प्रसस्त सुन्तला पाइन्छ तर
सडकमा सुन्तलाका बोक्रा जथाभावी फालेको पाइंदैन । किनभने
शहरका चौकचौकमा सुन्तला, केरा जस्ता फलफूल बेच्न बसेका
व्यापारीहरुले आपनो साथमा एकेक वटा खाली टोकरी, गत्था राखेका
हुन्छन् र सुन्तला किन्ने ग्राहकलाई तत्काल खाने भए सुन्तला,
केराका बोक्रा आपनै टोकरीमा फाल्न भन्दछन् । हाम्रो
कार्यक्रम चल्दै गर्दा जिल्लाका एक जना डिसिएमसित बाहिर
निस्क्यौं अत्यन्तै राम्रा सुन्तला देखेर किन्यौं । मैले
सुन्तला फोक्न थालेपछि सुन्तला बेच्नेले बोक्रा आपनो टोकरीमा
राख्न लगायो । मैले सोंचे उसले बोक्रा घरमा लिएर कुनै काममा
लगाउने होला, तर उसले बाटोमा जथाभावी बोक्रा फाल्नु हुँदैन
भनेर त्यसो गरेको जानकारी गरायो । अनि मैले पार्टीका साथीसंग
कुरा बुझें, त्यो त त्यहाँको चलन नै रहेछ । मलाई त्यस कार्यको
तारिफ गर्न मन लाग्यो- 'यो त अत्यन्तै सभ्य संस्कृति हो ।'
त्यस्तो कार्यले मलाई अर्को लोभ पनि लाग्यो- 'दाङ त झन्
एशियाकै सुन्दर उपत्यका हो, यो उपत्यकाका शहरहरुलाई पनि
त्यस्तै सभ्य र सुन्दर बनाउन पाए कति जाती हुने ।' तर यहाँ
ठिक उल्टो पो छ । बाटो नै मिचेर घर बनाउने, बीच सडकमा गएर
पसल थापिदिने, व्यस्त सडकलाई खेल मैदान बनाउने, सडकभरि गिट्टी,
बालुवा, ढुंगा र इंटा थुपारेर महिनौंसम्म सडक जाम गर्ने, छि
कस्तो असभ्यता है हाम्रो -
तम्घासको भित्री व्यवस्थापन त धेरै नै राम्रो छ नै, त्यसलाई
सुन्दर बनाउन त्यहाँको रेसुंगा पहाड, कचौराको बीट जस्तो बनेको
डाँडा र शहरभित्रै हरियाली जंगलले पनि मनोरम तुल्याएको छ ।
अब आवश्यकता छ तम्घासलाई पर्यटकीय स्थल बनाउने । त्यसका
निम्ति गुल्मीको माओवादी पार्टीले छलफलमा ल्याएको रेसुंगा
पहाडको चुचुरोमा पुग्ने केबुलकारको व्यवस्थापन हो । यदि
तम्घास बजारबाट रेसुंगाको चुचुरोसम्म पुग्ने केबुलकारको
व्यवस्था गरियो भने नेपालकै सबैभन्दा राम्रो पर्यटकीय
क्षेत्र बन्ने निश्चित छ । कुरिनटारबाट मनकामना जाने
केबुलकारको तुलनामा बिसौं गुणा आम्दानी यहाँ बन्ने
केबुलकारबाट हुन्छ । किनभने मनकामनामा केबुलकार चढ्ने भनेका
हिन्दु नेपाली मात्र हुन् । तर रेसुंगामा जाने पर्यटकहरु
विश्वभरका हुनेछन् । त्यसले त डलर भित्र्याउने छ । किनकि
रेसुंगा चुचुरोबाट देखिने उत्तरतर्फको हिम श्रंङ्खला र
चारैतिरको पहाडी डाँडाकाँडा र प्राकृतिक मनोरम दृश्यहरु
हर्ेन लाखौं पर्यटक तम्घास भित्रिने छन् । त्यसका साथै उपल्लो
तम्घासलाई आवाशीय शहर, होटेल, रेस्टुराँ र तल्लो तम्घासलाई
सरकारी अफिस, बजार, उद्योग कारखानाको रुपमा व्यवस्थित गर्न
सकियो भने पहाडी भूगोलमा रहेको सदरमुकाम मध्य सबैभन्दा
सुन्दर सदरमुकाम तम्घास बन्ने निश्चित छ । उता रेसुङ्गा
पाहाडमा रिसोर्ट, पार्क, वागवानी र वगैंचाको रुपमा विकास
गर्न सकिने सुन्दर पठार छ । अहिले निर्माण भएको 'भ्यूटावर'लाई
अझै व्यवस्थित बनाउन सकियो भने त्यसले झनै आकर्षण बढाउने छ ।
एकपटक हामी दङ्गालीहरुले पनि तम्घासको सुन्दर, सफा र
व्यवस्थित बजार व्यवस्थापनबाट सिकेर दाङ उपत्यकालाई पनि
एशियाकै भव्यतम नगरी निर्माण गर्ने योजनातर्फ सोंच्ने कि -
तर एउटा अस्पताल निर्माण गर्न जमिन्दारी र सामन्ती हठवादी
चरित्रको लर्डाई गर्ने हामी दङ्गालीको चेतनाले यस्तो राम्रो
कार्यतर्फ सोंच्ने सुद्धि कहिले आउला र खैं - २०६४/८/१३