नेपाल विदेशीहरुको खेल मैदान
बन्दैछ
यतिबेला नेपालमा विदेशी शक्तिकेन्द्रहरुको चलखेल बढ्दो क्रममा
छ । नेपालका राजनीतिक दलहरुले निकास दिन तयार नहुनाले
विदेशीहरुको चलखेल तीव्र बन्न थालेको हो । माओवादी
क्रान्तिकारीहरु देशलाई अग्रगमनतर्फ लैजान खोज्ने तर संसदवादी
दलहरु यथास्थितिमै रहन चाहनुले निकास दिने कुरामा सहमति
जुट्न सकेको छैन । नयाँ जनवादी गणतन्त्र स्थापनाका निम्ति
हतियार उठाएर दश वर्ष सशस्त्र युद्ध लडेको पार्टीले संघीय
लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने प्रक्रियामा सहमत हुँदा
पनि आफूलाई पूँजीवादी प्रजातन्त्रवादी बताउने संसदवादी
दलहरुले त्यस विषयमा खुलेर सहमत हुन सकेका छैनन् । काइते
भाषामा सैद्धान्तिक सहमति जनाएता पनि त्यसलाई व्यवहारमा लागू
गर्न चाहिरहेका छैनन् । जसका कारण राजनीतिक गतिरोध अन्त्य
हुन नसकेको हो । नेपालको यही अकर्मण्य र राजनीतिक द्वन्द्वको
फाइदा उठाएर साम्राज्यवादीहरु नेपाललाई असफल राष्ट्र घोषित
गर्ने उद्देश्यमा लागिपरेका छन् ।
विशेष गरी अमेरिका, भारत चीन र युरोपियन युनियनले नेपालमा
ज्यादा चलखेल गरिरहेका छन् । उनीहरुका आ-आफ्नै स्वार्थ रहेका
छन् । अमेरिकाले नेपालमा स्थायी शान्ति हुन नदिएर अस्थिरता
पैदा गरी असफल राष्ट्र घोषणा गर्ने र संयुक्त
राष्ट्रसंघमार्फत् शान्ति सेना उपस्थित गराएर आफ्नो अखडा
कायम गरी इराकमा जस्तो आफ्नो कठपुतली सरकार बनाउन चाहन्छ ।
त्यसको उद्देश्य नेपालमा आफ्नो अखडा बनाएर चीनलाई घेरा हाल्ने
र भारतलाई पनि शक्तिराष्ट्रको रुपमा विकास हुन नदिने रणनीति
हो । त्यसैगरी भारतले नेपालमा वामपन्थीहरुलाई खतम गरेर नेपाली
काँग्रेसको पनि आफ्नो दलाली गर्ने वर्गलाई सरकारमा ल्याउने
अनि नेपालका प्राकृतिक सम्पदा हडप्ने र नेपाललाई आफ्नो स्थायी
बजार कायम गर्न चाहन्छ । त्यसका लागि नेपाललाई भूटानीकरण
गरेर सदैव आफ्नो पञ्जाभित्र राखिराख्न चाहन्छ । त्यस्तै चीनले
नेपालमा भारतीय र अमेरिकी दलाललाई भन्दा राष्ट्रवादी टाइपको
सरकार भएको देख्न चाहन्छ । नेपालमा राजतन्त्र रहनु र नरहनु
वा सामन्तवाद रहनु र नरहनुसँग उसलाई त्यति चासो छैन । ऊ केवल
भारत र अमेरिका विरोधी सत्ता चाहन्छ । त्यस्तै युरोपियनहरु
नेपालमा सामन्तवाद भन्दा एक कदम अघि बढेको पूँजीवादी
प्रजातन्त्रवादीलाई सत्तामा ल्याउन चाहन्छन् । यसरी कूल
मिलाउँदा विदेशीहरु नेपालमा स्वतन्त्र, स्वाभिमानी र
आत्मनिर्भर शक्तिको स्थायी सरकार भन्दा आ-आफ्ना अनुकूलका
बुख्याँचाहरु स्थापना गर्न चाहन्छन् । त्यसैले नेपालमा
अस्थिरताको फाइदा उठाएर दिन प्रतिदिन विदेशीहरुले आफ्ना
गतिविधि बढाउँदै लगेको कुरा राजनीतिक विश्लेषकहरु बताउँछन् ।
यसरी जुनसुकै नाममा भएपनि विदेशीहरुको अस्वाभाविक चलखेल बढ्नु
नेपाली सार्वभौमिकता माथिको ठाडो आक्रमण हो भन्न सकिन्छ ।
जहाँसम्म विदेशीहरुको सहयोगको कुरा छ त्यो यदि सकारात्मक
उद्देश्यले प्रेरित हुन्छ भने सहयोग लिनु अन्यथा होइन ।
कतिपय अवस्थामा मित्रराष्ट्रहरुको सुझाव सल्लाह लिनु पनि
पर्दछ । तर विदेशीहरुले मात्रै द्वन्द्वको समाधान गर्न सक्छन्
भन्ने कुरा गलत हो । किनकि विश्वका अन्य द्वन्द्वरत
मुलूकहरुका उदाहरण प्रशस्तै छन् । कुन देशमा शान्ति स्थापना
गर्न विदेशीले भूमिका खेले - कहीँ पनि छैनन् । यदि उनीहरुको
सल्लाह सुझाव र इशारामा चल्ने हो भने उनीहरुको स्वार्थ
अनुकूल हिड्नुपर्ने हुन्छ । किनभने अहिलेसम्म नेपालको
द्वन्द्वमा चासो बढाएका मुलूक पनि साम्राज्यवादी वा
विस्तारवादी नै त हुन् । फरक यति हो कि कुनै ठूला छन् कुनै
साना । बरु नेपालीहरु जसरी झगडा गर्न जानेका छन् त्यसरी नै
मिल्न पनि जानेका छन् भन्ने कुरा त १२ बुँदे सम्झौतादेखि
अन्तरिम सरकार गठनसम्मका घटनाक्रमले पुष्टि गरिसकेको छ । यदि
आजसम्म नेपालको शान्ति प्रक्रियामा विदेशीहरुले हस्तक्षेप
नगरेको भए एक वर्ष अगाडि नै देशले अग्रगामी दिशा पकडिसकेको
हुने थियो । यो कुरा सत्य हो । जब-जब सातदलबीच नयाँ सहमति
हुन्छ तब या त भारतीय या अमेरिकी शासक वर्गले आ-आफ्ना दूतहरु
पठाएर त्यसलाई भाँजो हाल्ने काम मात्र गरेका छन् । यो कुरा
नेपालका सबै संसदवादी दलहरुले बुझेर पनि बुझ पचाएका छन् ।
किनभने अहिलेसम्मका नेपालका सरकार, सत्ता र संसदवादी
पार्टीहरु विदेशी मालिकहरुका फेरो नसमाति सरकारमा बस्न
सकिदैन भन्ने मनोरोगले ग्रसित भएका छन् । र भयो पनि त्यही ।
यो दास संस्कृतिको अन्त्य नगर्दासम्म देश उन्नतीको मार्गमा
अघि बढ्न सक्दैन । दास संस्कृति भनेको सामन्तवादी संस्कृति
हो । सामन्तवादको अन्त्य गर्न पहिला राजतन्त्रको अन्त्य
गर्नुपर्छ र दलहरुमा भएका एवं सबै प्रकारका सामन्तवादको
अन्त्य गर्न जरुरी छ ।
जे होस् अहिले सातदलबीच भएका वार्ता प्रक्रियालाई निकासको
दिशामा जान नदिनु तिनै विदेशी शक्तिकेन्द्रहरुको खेल हो भन्ने
कुरामा कुनै भ्रम रहनु हुँदैन । यदि विदेशीहरुको इशारामा
चलिरहने हो भने नेपालमा शान्तिपूर्ण तरिकाले समस्या समाधान
हुन सक्तैन । यसले देशमा फेरि ठुलो गृहयुद्ध निम्त्याउने छ ।
त्यो गृहयुद्धले संसदवादी पार्टीहरुको अस्तित्वसमेत इतिहासका
पानामा खोज्नुपर्ने हुनेछ । बेलैमा सद्बुद्धि पलाओस् ।
वास्तवमा विदेशीहरुको चलखेल बढ्नु संसदवादी दलहरुमा भएका
दलाल चरित्रका पात्रहरु हावी हुनु हो । यतिखेर 'भाइ फुटे
गँवार लुटे' भन्ने उखान नेपाली राजनीतिमा चरितार्थ भएको छ ।
'सौताको रिसले पोइको काखमा...' भनेझैं माओवादीलाई सिध्याउने
रणनीति अपनाउन खोज्दा संसदवादी दलहरुले विदेशीहरुको अनावश्यक
चलखेल बढाइरहेछन् । विदेशीहरुको यो अस्वाभाविक खेलका कारण
आफ्नै घरमा आगो लागेमा भोली खरानी हेरेर पछुताउनु सिवाय अरु
केही हुने छैन ।