जस्ताको तस्तै
भद्रगोलतन्त्र सभा
- गाउँले यात्री
सोंच्दासोंच्दै टाउकै फुट्लाझैं भयो । के लेखौं, के नलेखौं,
जता हेर्यो उतै उस्तै । पम्पमा पेट्रोल छैन गाडीमा कन्ट्रोल
छैन । मंहगी र मूल्यवृद्धिको कुरै नगरौं सामानको कुनै रेट नै
छैन । मोबाईल सेट र इन्टरनेटको त कुरै छाडौं, बाबालाई फोन
गर्दा सान्नानीले जिस्काउँछिन् । राजनीतिको रङ्गै अर्कै,
अस्थिरता, अराजकता, अकर्मण्यता र आन्दोलन, राजनीतिक गतिरोध,
देशको विकास सही निकास सबैतिर अवरोध, उन्नतीको सगरमाथा
चढ्नुपर्ने बेला समस्याको सागरतिर झर्नुपरेको छ । समाधान र
सहमतिको भेट नै छैन । सात दलको बैठकमा सहमति खोज्ने सहमति
गर्दै असहमतिको निर्णय पास गरी टुङ्गिन्छ । नयाँ नेपाल देख्ने
आसमै कत्तिको त सासै खुस्किसकेको छ । अझै नयाँ नेपाल
भन्दाभन्दै कत्तिको सासै खुस्किने हो थाहै छैन ।
हाम्रा बाको बाजेका बाको साथी खडानन्दनाथ खतिवडाले मुखियाबाको
शासन खप्न नसकेर भनेका थे रे- 'कहीँ नभाको जात्रा हाँडीगाउँमा'
भन्या यही हो । १८औं शताब्दीमा बराज्यूले के पो देखेर
हाडीगाउँको जात्रा, बरु खतिवडा बराज्यूका नातिका पनि हामी
भाग्यमानी नातिहरुले २१औं शताब्दीमा देखिरहेछौं हाँडीगाउँको
जात्रा ! हाडीगाउFm भन्ने नयाँ नाउँ सुन्ने बित्तिकै कोही
बुजु्रक, अल्पबुज्रुक, अर्धबुज्रुक तथा वैदेशिक
वैज्ञानिकहरुलाई भ्रम पर्ला । र हाँडीगाउँ भन्या समुन्द्री
सतहदेखि कति किमी उचाईमा होला, कुन महाद्विप, कुन राष्ट्रको
कुन प्रदेशमा पर्छ भनेर विश्व मानचित्र पल्टाउन शुरु गर्लान्
। हाँडीगाउँ खोज्दै क्यामेरा, कम्प्यूटर र कम्बल बोकेर कहिले
अन्र्टार्कटिका र अन्तरिक्ष, कहिले वासिङ्गटन र आर्यघाटतिर
दौड्लान् वैज्ञानिकहरु । हजुर यो त नेपाली उखान मात्र हो
यसलाई त्यति नै बुझिदिनु होला ।
तर पाठकवृन्द ! बिम्बात्मक रुपमा भन्ने हो भने हाँडीगाउँमा
पाइने सबै चीज हाम्रो मुलूकाँ थोक तथा फुटकर रुपमा सजिलै
पाउन सकिन्छ । हाम्रो मुलुकाँ के छैन र - नयाँ नेपाल, पुरानो
नेपाल, अन्तरिम सरकार, अन्तरिम संविधान, लोकतन्त्र,
प्रजातन्त्र, राजतन्त्र, यतातन्त्र, उतातन्त्र, तलतन्त्र,
माथितन्त्र, जनतन्त्र, मनतन्त्र, राजावादी, खाओवादी, अघाओवादी,
पचाओवादी, राष्ट्रवादी, अराष्ट्रवादी, जातिवादी, धर्मवादी,
सामन्तवादी, विस्तारवादी, साम्राज्यवादी के के हुन् के के
भाँतीभाँतीवादी । यी सबै वादीका आ-आफ्नै वाद छन् । सबै
तन्त्रका आ-आपनै मन्त्र छन् ।
यतिमात्र कहाँ हो र संसद दल, गैरसंसद दल, संवैधानिक दल,
असंवैधानिक दल, बन्द दल, मन्द दल, गन्ध दल, मकै दल, गहुँ दल,
के के हुन् सक्नेले नसक्नेलाई, ठूलोले सानोलाई, बाठोले
लाटोलाई, बाङ्गोले सोझोलाई, हाकिमले कर्मचारीलाई, ठेकेदारले
कुल्लीलाई दल्ने नदल्ने सबै ठाउँमा दल्यादल्यै छन् ।
के भनौं र जमानै यस्तै छ, राष्ट्रवादीहरु एक भएर लडौं भन्दा
राजावादीहरुसंग मिल्न खोजे भनेर सेरेमोनियल सामन्तवादीहरु
अराष्ट्रवादी आन्दोलन गर्न अग्रसर भैसकेका छन् । संस्कार
संस्कृतिका त कुरै सकियो । सडकमा छुट्टै तडकभडक छ, आधुनिक
बन्ने नाममा नाङ्गनिे लहड छ, राउटे र चेपाङहरु नपुगेर नाङ्गै
छन रेखा र अरुनिमाहरु चाहीँ सस्तो भएर नाङ्गै ! कसैलाई जोत्ने
जग्गा छैन, कसैलाई बाँझो राख्दा पनि सस्तो, भूमीहीनहरुको तन
नाङ्गो भएर के गर्नु, जमिन्दारको मन बाङ्गाको बाङ्गै छ ।
कमैया क्याम्पमा खान लाउन नपाई चिच्याएर मात्रै के गर्नु,
कुम्भकर्ण क्याम्पमा निन्द्रा भंग भएकै छैन ।
त्यसैले आउनुहोस् साथीहरु, हाम्रो यो २१औं शताब्दीको
हाँडीगाउँको जात्रालाई शताब्दीकै भव्य भेलाको रुपमा मनाऔं
जुटेर होइन फुटेर मिलेर होइन कुटेर भद्रगोलतन्त्र सभाको
निष्पक्ष चुनाव पनि गरौं ।