यसपटक
विश्व मानवअधिकार दिवशका सन्दर्भमा
- हिरामणि दुःखी
आज दश डिसेम्बर, अर्थात् विश्व मानवअधिकार दिवशको दिन । सन्
१९४८ को डिसेम्बर १० का दिन संयुक्त राष्ट्रसंघको महासभामा
मानवअधिकारको विश्वव्यापी घोक्षणा-पत्र जारी भई पारित भएको
दिनलाई हरेक वर्ष विश्व मानवअधिकार दिवशको रुपमा मनाउने
प्रचलन छ । उक्त महासभामा जारी घोक्षणा-पत्रका ३० वटा
धाराहरुमा हरेक नागरिकले गास, वास, कपास, शिक्षा, स्वास्थ्य
र रोजगारलगायत मौलिक हक, सूचनाको हक जस्ता मानवले जीवनमा
स्वतन्त्र रुपले उपभोग गर्न पाउने अधिकारहरुलाई हरेक नागरिकले
स्वतन्त्र रुपले निर्वाध रुपमा प्रयोग गर्न पाउने कुरा
उल्लेख छन् । साथै हरेक नागरिकलाई उसको राज्यसत्ताले कुनै पनि
अधिकार उपयोग गर्न नदिएर शोषण उत्पीडन गर्यो भने त्यो
राज्यसत्ताका विरुद्ध विद्रोह गर्न पाउने अधिकार पनि उक्त
महासभाद्वारा पारित घोक्षणा-पत्रमा उल्लेख गरेको छ । नेपाल
उक्त सन्धीको पक्षराष्ट्र पनि हो । तर नेपाल त के विश्वका
ठूलठूला प्रजातन्त्रवादी कहलाइएका राष्ट्रहरुले पनि त्यस
नियमको पालना गरेका छैनन् । यसरी मानवअधिकारको विश्वव्यापी
घोक्षणा-पत्र राज्यसत्ताका निम्ति देखाउने दाँत मात्र भएका
छन् । मानवअधिकारको विश्वव्यापी घोक्षणा-पत्रको धारा-३ मा
नागरिकको बाँच्न पाउने, व्यक्तिगत स्वतन्त्रता तथा सुरक्षा
गर्न पाउने अधिकार उल्लेख गरिएको छ । यो अधिकार आज केवल उच्च
र सम्भ्रान्त वर्गका निम्ति मात्र लागू छ । मान्छेलाई
बाँच्नका निम्ति खान, लाउन र बस्ने बासको व्यवस्था हुनु जरुरी
छ । तर, आज विश्वमा खान नपाएर नै दिनहुँ हजारौंले ज्यान
गुमाउनु पर्छ । काम गर्ने ठाउँ नै नपाएर खान नपाउनु एउटा कुरा
हो भने दिनमा २० घण्टा काममा जोतिएर पनि पेटभर खान नपाई
कुपोक्षणको शिकार हुनेहरु करोडौं छन् । पेटभर खान नै नपाएका
जनतालाई लाउने र बस्ने त टाढाको विषय हुन्छ भने अन्य मौलिक
हक भन्ने कुरा त उसका निम्ति कल्पनाकै विषय बन्दैन । त्यसैगरी
सन्धीको धारा-४ मा कुनै पनि नागरिकलाई बाँधा वा दासदासी
बनाउन नपाइने भन्ने कुरा उल्लेख छ । आज विश्वमा घोषित दासदासी
प्रथा कहीँ पनि छैन । नेपालमै पनि दास प्रथाको उन्मुलन राणा
शासनकै पालामा भएको हो । तर पछिल्ला दिनहरुमा कमैयाँ, हरुवा,
चरुवा, भैसवार, कमलरी, ओरगान्नी आदि नाममा दासदासी राख्ने
चलन अध्यावधी कायम छ । पश्चिम नेपालमा विशेष गरी थारुवान
क्षेत्रमा कमैयाँ उन्मुलन गरिएको सरकारले घोक्षणा गर्यो तर
उनीहरुको अहिलेसम्म जीवनयापनको ठाउँथलोको अत्तोपत्तो छैन ।
विश्वव्यापी घोक्षणा-पत्रको धारा १९ मा बोल्ने, लेख्ने र
छपाउने अधिकार उल्लेख गरिएको छ भने धारा २४ मा छुट्टी पाउने
र कामको लागि निश्चित समय तोकिनुपर्ने जस्ता कुराहरु उल्लेख
गरिएका छन् । घोक्षणा-पत्रमा जेजस्ता कुरा उल्लेख गरेको भएता
पनि त्यसलाई कसैले पनि लागू गरेको पाइंदैन । आज पनि घरेलु
कामदारको रुपमा राखिएका कामदारहरुलाई मालिकले जतिबेला पनि
काममा लदाइरहेको हुन्छ । ऊ मुस्किलले पनि सुत्न र खाने समयका
रुपमा ४ घण्टा पनि उपयोग नगरी दिनरात काममा जोतिनुपर्ने
स्थिति छ । त्यसरी २४सै घण्टा श्रममा जोतिंदा पनि न त उसले
उचित ज्याला पाउँछ न त रोजगारीको ग्यारेन्टी नै । नेपालका
शहर बजारका होटेल, रेष्टुराँ, पसल वा सम्भ्रान्त वर्गका
घरहरुमा यसरी २४सै घण्टा हाडमासु घोटेर जीवन बिताइरहेका लाखौं
मजदुरहरु छन् । उनीहरुलाई यो विश्व मानवअधिकार दिवशको
छेउ-टुप्पो पनि थाहा छैन । बरु यस्ता दिवशका दिन ठूलठूला
सेमिनार, गोष्टी र अन्तरक्रियाहरुमा मानवअधिकारका भाक्षण
छाँट्नेहरु तिनै मालिकहरु हुन्छन् ।
अर्कोतर्फ राजनीतिक बन्दीहरुदेखि फौजदारी अपराधमा थुनामा
परेका व्यक्तिहरुले जेल वा हिरासतमा पाशविक यातना भोग्नु
परेका घटनाहरुको कुनै लेखाजोखा नै हुँदैन । सेना र पुलिसलाई
जतिसुकै मानवअधिकारका पाठ पढाए पनि उनीहरुको अपराध अनुसन्धान
शैली १८औं शताब्दीकालिन बर्बर शैली छ । उनीहरु निर्दोषलाई
दोषी र दोषीलाई निर्दोष बनाएर छोड्छन् । पाशविक यातना दिएर
निर्दोषलाई दोषी सावित गरेर आजिवन जेलमा सडाउने प्रथा नेपालमा
दिनप्रतिदिन बढ्दो क्रममा छ ।
यसरी मानवअधिकारको विश्वव्यापी घोक्षणा-पत्रमा जे जति
मानवअधिकारका कुरा उल्लेख गरिए पनि ती कुरा समाजका शाषक
वर्गले त उपभोग गरेका होलान्, तर जनताले उपभोग गर्न पाएका
छैनन् । अर्को कुरा आज विश्व मानवअधिकार दिवशका दिन विश्वभर
हरेक देशमा सयौं मानवअधिकारवादी संस्थाहरुले अधिकार उपभोगका
कुरा गरे । मानवअधिकार सूचकाङ्कको स्थिति सार्वजनिक गरे ।
गोष्ठी, सेमिनारहरु भएता पनि अधिकार प्रयोगका लागि मान्छेले
विद्रोहको बाटो किन रोज्न पुग्छन् भन्ने विषयको वास्तविक
कारणको उजागर गरेर त्यसको निराकरण गर्नेतर्फ कोही पनि
लागिपरेका देखिंदैनन् । हरेक वर्ष अधिकार दिवश मनाउन,
आन्दोलन सञ्चालन गर्न र मानवअधिकार शिक्षाका निम्ति करोडौं
डलर खर्च गरिन्छ तर त्यो सबै मरुभूमिमा पानी घोप्टाएझैं हुने
गरेको छ । नेपाल पनि त्यसको अपवाद छैन । च्याउझैं उम्रिएका
मानवअधिकारवादी संस्थाहरुको निम्ति नेपालका गरीबी, अशिक्षा,
बेरोजगारी, शोक्षण उत्पीडन भेदभाव जस्ता कुराहरु कमाउधन्दाका
माध्यम बनेका छन् । अधिकार सुनिश्चित गर्न हरेक संस्थाहरुले
लाखौं करोडौं खर्च गर्दछन् तर त्यो लक्षित वर्गसम्म कहिल्यै
पुग्दैन । जो मानवअधिकार उपभोग गर्न नै पाउँदैन उसैलाई
अधिकार सुरक्षाको तालिम दिइन्छ तर जसले अधिकार हनन् गर्दछ
उसलाई अधिकार संरक्षणको जिम्मा दिइन्छ । यसले सहज बुझिन्छ कि
यो दिवश मनाउनुको र्सार्थकता छ कि छैन भन्ने कुरा । त्यसैले
वर्गीय समाजमा सबै कुरा वर्गीय भएझैं मानवअधिकार पनि वर्गीय
हुने गर्छ । सोलोडोलो रुपमा शोषक वर्ग र शोषित वर्गको समान
अधिकार संरक्षणको कुरा गर्नु भनेको घुमाउरो तरिकाले शोक्षण,
उत्पीडनको संरक्षण गर्नु नै हुन जान्छ । १० डिसेम्बर,२००७