रिपोर्ट
मुहार फेर्दैछ घोराही बजारले
- डिल्ली मल्ल/दाङ
समय यस्तै थियो, मौसम पनि यस्तै थियो । एकाबिहानै हात-हातमा
कोदाली, बेल्चा र सप्पल उचालेका एकहुल मानिसहरु घोराहीस्थित
दामोदर चोक र तुलसीपुर चोकबीचको गणेश हल रोडमा पुगेर धमाधम
सडक खन्न थाले । सडक फराकिलो बनाउनुका साथै उनीहरुले नाली पनि
खन्न थाले । जनस्वयंसेवक लेखिएका राता ज्याकेट लगाएका
उनीहरुले सडक र नाला खन्न थालेपछि एकछिन बजारबासीहरु त
अच्चम्भित नै भए । यो घटना ठिक १ वर्ष अघि मंसिर २० गतेको हो
।
त्यतिबेला उक्त सडक खण्ड साँघुरो, कच्ची र उबडखाबड थियो,
बसगाडी गुड्दा धुलो उडेर पसलमा राखिएका सामान समेत धुलाम्य
हुन्थे । तर अहिले त्यस्तो छैन । गणेश हल रोड अहिले पुरै पीच
गरिएको र पहिले भन्दा धेरै फराकिलो पनि छ । गत वर्ष माओवादी
पार्टीद्वारा गठन गरिएको जनसेवा समितिले सडक मर्मत कार्य शुरु
गरेपछि बाध्य भएर नेपाल सरकार र सम्बन्धित निकायले बजेट
निकासी गर्नुपर्यो र १ वर्षको निरन्तर प्रयासपछि अहिले
चिल्लो र फराकिलो सडक बनेको छ । गणेश हल लाइनको बजार आकर्षक
देखिन्छ । सडक मर्मत कार्यमा जनसेवा समितिले पहल र शुरुवात
नगरेको भए सडक अहिले जस्तो बन्थ्यो कि बन्दैनथ्यो भन्न नसकिने
नगरपालिकाका कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताउनु भयो
। उहाँले भन्नुभयो- 'जनसेवा समितिले शुरुवात नगरेको भए सायद
हामी एक्लैले गर्न सक्ने नै थिएनौं ।' कामकाज अघि बर्ढाई
सकेपछि पनि विविध बाधा अवरोधहरु नआएका होइनन् तर पनि निर्माण
कार्य सफल भयो उहाँले भन्नुभयो ।
जनसेवा समितिले काम थाल्नु अघि उक्त सडकको विषयमा छलफल भए पनि
मर्मत काम अगाडि बढाउने विषयमा कुनै योजना बनेको थिएन ।
समितिले कामको थालनी गरिसकेपछि लगत्तै स्थानीय विकास
मन्त्रालयबाट बजेट आएको कार्यकारी अधिकृत गौतमले बताउनु भयो
। सडक मर्मतमा नेपाल सरकार स्थानीय विकास मन्त्रालयबाट लागत
सहभागिता विकास कार्यक्रम अन्तरगत ३५ लाख, त्रिननपाले १० लाख,
जिविसबाट क्यारी निर्माणको लागि १ लाख ८८ हजार १ सय र
स्थानीय उपभोक्ता जग्गा धनी र घरधनीहरुले ढल निर्माण तर्फ ३८
लाख लगानी गरेको कार्यकारी अधिकृत गौतमले बताउनुभयो ।